Navigation
NRNA Qatar News

कतारमा अलपत्र नेपालीको उद्धारका लागि एनआरएन –श्रममन्त्री भेट

Sep 25, 2023
रोजगार मञ्च । कतारको एक कम्पनीमा कार्यरत नेपालीहरु लामो समयदेखि अलपत्र परेपछि उनीहरुको तत्काल उद्धारका लागि गैरआवासीय नेपाली संघले श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानकर्षण गराएको छ । कतारको इलुसिड कम्पनीमा कार्यरत एक सय ८० कामदारमध्ये १७ जना आफ्नै पहलमा फर्किएका भएपनि अन्य बिचल्लीमा परिरहेकाले तत्काल घरफिर्तीका लागि पहल गरिदिन एनआरएनले श्रम तथा रोजगार मन्त्री दिपक बोहोरालाई ज्ञापन पत्र बुझाएको छ । एनआरएनका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको टोलीले मन्त्री बोहोरालाई कतारमा सयौ अलपत्र नेपालीको तत्काल उद्धारका लागि सरकारी पहल गर्न र भोलिका दिनमा तत्काल उद्धार गर्ने संयन्त्र बनाउनका लागि आग्रह गरेको थियो । घलेले मन्त्री बोहोरालाई भने–‘ ऐननियम हेर्दै गरौला तर समस्यामा परेका नेपालीलाई तत्काल स्वदेश फर्काइहाल्नु प¥यो, यसका लागि सरकारलाई जस्तोसुकै सहयोग गर्न एनआरएन तयार छ ।’ उक्त कम्पनीमा नेपालीहरुले महिनौदेखि काम र तलब नपाएर खानसमेत समस्यामा परी घर फिर्ने समय कुरेर बसिरहेका छन् । नेपालीहरु कार्यरत कम्पनी नै डुबेकाले उनीहरु समस्यामा परेको एनआरएनको भनाई छ । अहिले एनआरएन कतार र विभिन्न संघ संस्थाले समस्यामा परेका नेपालीलाई  खाद्यान्न सहयोग गर्दै आइरहेका छन् ।    मन्त्री बोहोरालाई भेट्न अध्यक्ष घले, महासचिव डा. बद्री केसी, युवा उपसंयोजक लोकराज शर्मा, कार्यकारी निर्देशक राजेश रानालगायत एनआरएनहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मेनपावर र दूतावासलाई तागेता कतारमा अलपत्र नेपालीहरुको समस्या सुनेपछि मन्त्री बोहोराले श्रम सचिव बिष्णु लम्साल, सहसचिवहरु सूर्य श्रेष्ठ र गोबिन्दमणि भूर्तेल, वैदेशिक रोजगार विभागका महानिर्देशक सत्रुध्न पुडासैनीलगायतलाई आफ्नै कार्य कक्षमा ढाकेर तत्काल समस्या समाधान गर्न निर्देशन दिए । कतारमा कामदार पठाउने मेनपावरलाई नै सबै कामदार फर्काउनका लागि निर्देशन दिने मन्त्रीले बताएता पनि दुई बर्षे करार अवधि नाघेका कामदारको जिम्मा मेनपावरले नलिने हुँदा दूतावासलाई पनि तत्काल ताकेता गर्न श्रम सचिव लम्माललाई निर्देशन दिए । अलपत्र कामदार मध्ये केहीको २ बर्ष ननाघेको, केही २ बर्ष भन्दा बढि बसेको र केही अबैधरुपमा नै कार्यरत रहेको हुँदा फर्काउन समस्या देखिएको छ । एनआरएन र दूतावासलाई पीडित नेपालीहरुको अवस्था र उनीहरु कागजात ल्याउन अनुरोध गर्दै मन्त्री बोहोराले केही दिनमा आफैं कतार गएर भएपनि नेपालीलाई उद्धार गरेर ल्याउने प्रतिवद्धता व्यक्त गरे ।